Honoring Social Justice Leaders Worldwide

कथा रक्षक रक्षारामको: nepalkhabar.com

भर्खर २८ वर्ष पुगेका रक्षाराम चमारले सोमबार ५ लाख रुपियाँसहित दर्नाल अवार्ड थापे। सामाजिक न्यायका पक्षमा निरन्तर खटिरहेका चमारको अन्तरकथा त्यत्तिकै प्रेरणादायी छ। 


images-cms-image-000002117

जिल्ला कपिलवस्तु। बाँसखोर वडा नं. ६, सानो कर्मा। नाम जस्तै सानो गाउँ, बढीमा ४० घर। एउटा घर ब्राह्मणको, अर्को एक घर कुर्मीको र तीन चार घर यादवहरुको र बाँकी सबै दलित समुदायको बसोबास। जातमा सानो ठूलो भए पनि छाप्रा उस्तै उस्तै। यस्तै थियो रक्षाराम चमारको आँखाले देखेको बुझेको उनको आफ्नो गाउँ।

छिमेकी गाउँ पकडीवासी र सानो कर्मावासीको भूगोल मात्र समान थियो। भोगाइचाहिँ ठिक विपरीत थियो। उनीहरु शासक थिए, यिनीहरु शासित। पकडीका मान्छे जमिन्दार थिए। सानोकर्मावासी उनीहरुकै खेतमा श्रम गरेर सेवा टक्र्याउँथे। उनीहरु रक्षारामको गाउँ रवाफसहित छिर्थे। सानै उमेरमा उनले पल्लो गाउँका जमिन्दारहरु विरुद्ध आफ्नो गाउँका सबै मान्छे थुर्थुर भएको चाल पाए। उनी भन्छन्, ‘सानो कर्मा पकडीको उपनिवेश नै थियो। उनीहरुको विरुद्धमा उभिने कसैको हिम्मतै थिएन।’

स्कुले जीवनका तिता मिठा याद

उनकै गाउँमा स्कुल नभएकोले पढ्नका लागि उनी पकडी नै पुग्नु पर्थ्यो। पकडीको माटो टेक्नासाथ उनको हृदयमा डर पलाइ हाल्थ्यो। किनकी उनी पढ्ने क्षत्रपाली मावि (अहिले उच्च मावि) मा कुर्मी र चौधरीहरुको बोलबाला थियो।

मास्टर तिनै र स्कुलका समितिमा पनि उनीहरु नै थिए। तिनका सन्तानसँग गल्तीले पनि अनबन नहोस् भनेर सधैं सतर्क रहन्थे। उनले भने ‘म त्यही भएर सकेसम्म कमै बोल्थे र एक्लै बस्थे। एकखालको असुरक्षाले मनमा घर बनाएको थियो।’

त्यसो त, उनीसँग स्कुल जाँदाका केही रोचक सम्झना पनि छन्। उनको गाउँ र स्कुलको बीचमा एउटा खोला थियो। ‘खोला आएपछि सबै साथीभाइ सँगै पाइन्ट खोल्थ्यौ, पानीभन्दा हात तन्काइ चपल वा जुत्तासँगै पाइन्ट पनि नभिज्ने गरी जोगाएर खोला तथ्र्यौं। उनले हाँस्दै सम्झे। बाटो हिँड्दा घाम छेक्ने शैली पनि गजबको थियो। स्कुलमा बस्ने बेन्च नभएकोले सबै विद्यार्थीले प्लास्टिकको बोरा बोकेका हुन्थे। त्यही बोराका कुना कुना गाठो पारी तीनचार जना साथीहरु घामलाई झुक्याउँदै अगाँलो कसेर हिँड्थे।

२०१६ सालमा स्थापना भएको उनी पढ्ने स्कुलको समितिमा चौधरी समूहको हालीमुहाली थियो। त्यसैले उनी ससाना कुरामा पनि डराउँथे। स्कुलका मास्टरको छोराछोरी त्यहीँ पढ्थे। स्कुलको समितिमा पनि उनीहरु न थिए। सकेसम्म एक्लै बस्थे। ‘कुनै दिन सानो तिनो ठाकठुक पर्यो भने पनि मलाई बचाउने कोही हुँदैन भन्ने मनोविज्ञानले असुरक्षित महसुस हुन्थ्यो। कसैले केही भनि पो हाल्ने हुन् कि भनेर हच्किन्थेँ।’

कक्षा ५ सकेर ६ मा पुगेपछि केही कुराले उनलाई पछ्याउन थालेछ। आखिर कोही मान्छे उनको घरमा आउँदा खाटमा बसिरहेका उनका बाबु भुइँमा बसेर पाहुनालाई खाटमा किन बसाल्छन्? अनि आफ्ना बाबु अर्को मान्छेको घरमा जाँदा त्यो घरको मान्छे भुइँमा बसेर उनका बाबुलाई त्यसरी नै खाटमा किन बसाल्दैन? गाउँकै ब्राह्मणको घरमा पानी खान दिने दुई थरी गिलास किन प्रयोग गर्छन्?

जातीय आधारमा तल्लो र माथिल्लो जात भनेर गरिने भेदभावको छनक पाएपछि उनले थप कुराहरु पनि बुझ्दै गए।

केही डर र चिन्ता भए पनि उनमा पढाइप्रति लगाव थियो। बिहान बेलुकी घाँसखेतको काममा सघाए पनि घरभित्रको वातावरण प्रतिकुल थिएन। फुपूहरु पनि सँगै भएकाले कामको बोझले पढाइ नै छाड्ने अवस्था आएन। त्यही भएर उनले एसएलसीमा सेकेण्ड डिभिजन ल्याउन सके।

निरक्षर आमा बासमती चमार र मात्र ४ कक्षा पढेका बुबा जिलाजित चमारको जेठो छोराले गाउँकै एक्लो एसएलसी पास हुने रेकर्ड बनायो, सबै जिल परे। उपल्लो जातका भन्नेहरुले पनि क्या बात भनेर उनका बा र आमालाई बधाइ दिँदा पहिलो पटक आफ्नो आँखाको आँशु मिठो लाग्यो।

२०६० मा एसएलसी सकेपछि थप अध्ययनका लागि आर्थिक जोहोजाम गर्न समस्या पर्नु स्वाभाविक थियो। तर उनी आत्तिएनन्। सानोतिनो काम गर्दै र सकेको सहयोग लिएर उनी भारतको उत्तर प्रदेश सक्तपुरस्थित जयकिशन इन्टर कलेजबाट प्रमाण पत्र तह पुरा गरे। स्नातक तहका लागि उत्तर प्रदेशकै वर्डपुर कलेज भर्ना भए पनि जाँच दिन मात्रै जान्थे। नम्बर राम्रो नआएपछि तौलिहवाको कपिलवस्तु बहुमुखी क्याम्पसमा पढाइ थाले।

उनीसँग पढेर ठ्याक्कै यही गर्छु वा यही बन्छु भन्ने योजना थिएन। ‘तर आफ्नो गाउँ ठाउँ र समाजलाई फाइदा पुग्ने केही काम गर्नैपर्छ भन्ने कुरामा प्रष्ट थिएँ।’ भयो पनि त्यस्तै। उनी गाउँ फर्केपछि सबैको नजरमा गाउँकै जान्ने मान्छे बने। पढेका जो थिए। केही पर्यो कि सबैजना सल्लाह माग्थे। उनी पनि आफूले सकेको गर्न पाउँदा रमाउँथे।

मान्छे एक, काम अनेक

रक्षाराम सानै उमेरमा मान्छे एक, काम अनेक उक्तिका पर्याय हुन्। उनले एउटै समयमा धेरै काममा हात हाले। १९ वर्षे हेडमास्टर बनेर सबैलाई दंग पारे। साप्ताहिक पत्रिकाको सम्पादक बने। यसमा पनि उनले रेकर्ड बनाए कपिलवस्तुकै पहिलो मधेसी दलित सम्पादक। उनले पहिलो संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीको कामदेखि रुपन्देहीको मर्चवारमा सडक निर्माणमा ज्यामी कामको समेत अनुभव बटुलेका छन्।

शिक्षाको महत्व बुझेका उनको मनमा पढाउने कामप्रति सम्मान थियो। पत्रपत्रिकामा दलित समुदायको मुद्दाबारे गम्भीर सामग्री नछापिन भएकोले पत्रकारिता मार्फत् त्यो समुदायको उत्थानका लागि पनि केही गरौँ भन्ने सोच थियो उनको। उनले भने ‘जातीय भेदभावजस्तो कुरीतिलाई चुनौती दिने खालका अरु काम पनि गर्ने भित्री चाहना त झन् कति थिए कति।’

यस्तै बेला, गाउँमा सबै दलित बच्चा समेतलाई स्कुल पढाउनै पर्छ भन्दै सामुदायिक स्कुल स्थापना गर्नुपर्ने कुरा उठ्यो। प्रमाण पत्र तहसम्म पढेका गाउँमै उनीमात्रै एक, सोझै हेड मास्टरको प्रस्ताव आयो। ‘चुनौती त थियो तर त्यसलाई अवसर मानेर स्वीकारेँ।’ यसरी उनी १९ वर्षको काँचै उमेरमा उनले हेडमास्टर बने। महालक्ष्मी प्राथमिक विद्यालयमा उनले २०६४ देखि ६७ सम्म पढाए। ‘शुरुमा पढ्नै ठाउँ नै थिएन, बगैंचामा पढाइयो। पानी पर्यो कि पढाइ बन्द।’ यस्तो अवस्थाबाट शुरु भएको स्कुलमा अहिले दुई दुई कोठाको तीन वटा भवन छ।

छुवाछुत र विभेद जस्ता विषयमा बोल्ने, लेख्ने र व्यवहारमै पनि नमान्ने भएपछि स्कुलकै शिक्षकहरुसँग उनको मतान्तर भइरहन्थ्यो। एक जना तिवारी ब्राह्मण थरसँग ठाकठुक परेपछि उनलाई स्कुलबाट निकाल्ने राजनीति शुरु भयो। उनले आफूअनुकुल काम गर्ने वातावरण नभएपछि स्कुल छोडे। यसपछि उनी मधेस मानव अधिकार गृह (माहुरी होम) मा जोडिए।

रक्षाराम बने रक्षक

गाउँमा कृषि पेशामा श्रमिकहरुले सरकारले तोकेको भन्दा न्युन ज्यालमा काम गर्नु परिरहेको कुरा उठ्यो। जिल्ला विकास समितिले दैनिक ज्याला १ सय ५० तोकेको थियो। तर उनीहरुले बढीमा ८० रुपैयाँमा काम गरिरहेका थिए। यो मुद्दामा रक्षारामले सबैलाई एउटै स्वर बनाउन र अन्तिमसम्म डटिरहन सुझाव दिइरहे। ‘लामो झमेला र धेरै चरणको भेलापछि बल्ल बल्ल १२० रुपैयामा सहमति जुट्यो। उनले भने ‘ज्याला वृद्धि गराउन सहजीकरण गर्दा मलाई हात खुट्टा तोडिदिने धेरै धम्कीहरु आएका थिए।’

त्यतिबेला उनकी आमाले पनि भनेकी थिइन, ‘एक्लै लडेर के हुन्छ र?’ पछि आमाले पनि बुझिन् कि उनको छोरा एक्लै थिएनन्।

फराकिलो गोरेटो काठमाडौँ

रक्षारामलाई नजिकबाट नियाल्नेमध्ये अधिवक्ता दिपेन्द्र झाले पनि एक थिए। उनले नै रक्षारामलाई राजनीतिक र कानुनी लडाइ लड्न काठमाडौँ आउने सल्लाह मात्रै दिएनन्, सघाउने वाचा पनि गरे। एमएड गरेका रक्षारामलाई यसअघि नै अभियन्ता बनेर हिँड्न कानुनी पढाइको खाँचो बोध भइसकेको थियो।

झाको प्रस्तावले हौँसिदै उनी सन् २०१३ मा काठमाडौँ आए। तराई मानव अधिकार रक्षक थर्ड अलायन्समा काम गर्ने माहोल बनाएर काठमाडौँ आएका उनी ल क्याम्पसमास्नातक तहमा भर्ना भए। हाल उनी कानुनी सहयोगीका रुपमा सक्रिय छन्। मानव अधिकार, दलित तथा मधेसीलगायतका अल्पसंख्यक समुदाका र समावेशीकरणको मुद्दालाई नजिकबाट अध्ययन गर्ने काम गरिरहेका छन्।

कपिलवस्तु बसेरै सामाजिक अभियानको गोरेटो खनेका उनले राजधानी छिरेको छोटो समयमै धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छन्।

सन् २०१४ मा उनले सीमान्तकृत समुदायको आरक्षणको कार्यान्वयन नगरेको भन्दै लोकसेवा आयोगविरुद्ध रिट दायर गरेका थिए। सोही रिटका अदालतको आदेशपछि लोकसेवा आयोगले आफ्नो कार्यविधि बदल्न बाध्य भयो। सन् २०१५ मा रिता शाह र विजयकान्त कर्णसँग मिलेर हालेको मुद्दापछि सर्वोच्च सर्वोच्च अदालतले उनीहरुको पक्षमा फैसला गर्‍यो र राजनीतिक दलहरु सिमाङकनसहितको संविधान ल्याउन बाध्य भए।

उनले राजदूत नियुक्ति, न्यायाधिश, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त नियुक्तिमा भएको विभेदकारी छनौटविरुद्ध पनि आवाज उठाउँदै आएका छन्।

उनको नजरमा उनले फरक काम गरेका होइनन्। तर काम गर्ने शैली चाहिँ फरक हो। ‘परिणाममुखी काममा विश्वास गर्छु।’ मागेर भन्दा डटेर, लडेर मात्र दलितले अधिकार पाउने धारणा राख्ने रक्षाराम मधेसी दलितले पहाडी दलितभन्दा बढी लड्नु पर्ने कुराप्रति गम्भिर छन्। छोराको यस्तो जुझारुपन देखेर आमा अचेल भन्न थालेकी छिन्, ‘बेटा, म पनि तिम्रै साथमा छु। हिम्मत नहार्नू!’

प्रकाशित ३१ साउन २०७३, सोमवार | 2016-08-15 14:41:46
Similar posts
  • Caste discrimination stronger in Nepa... Sukhadeo Thorat, Professor Emeritus at Jawaharlal Nehru University since 2014, is the chairman of the Indian Council of Social Science Research. He also served as Director of Indian Institute of Dalit Studies. Republica’s Kamal Pariyar caught up with Thorat while he was in Kathmandu to participate in Darnal Award for Social Justice and other lectures. [...]
  • Harijan awarded for his fight for soc... KATHMANDU, Aug 16: The First Darnal International Award for Social Justice was awarded to Raksha Ram Chamar (Harijan) from Madhesi Dalit community for his struggle to achieve education and justice for Dalits and other marginalized groups. The award established in memory of social activist Suvash Darnal is presented to individuals or organizations that have demonstrated [...]
  • नेपालले दु:ख धेरै बेहोर्‍यो, अब अगाडि... श्रावण ३२, २०७३- अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका राजनीतिशास्त्री एवं हुभर इन्स्टिच्युसनका सिनियर फेलो ल्यारी डायमन्ड अहिले काठमाडौंमा छन् । ‘दर्नाल अवार्ड फर सोसल जस्टिस’ वितरण कार्यक्रमलाई सम्बोधन गर्न अन्य अमेरिकी प्राज्ञहरुसँगै आएका उनी लोकतान्त्रिक मूल्य-मान्यता र वैदेशिक मामिलाका क्षेत्रमा सघन ढंगबाट अध्ययन-अध्यापन गरेका प्राध्यापक मानिन्छन् । यिनै विषयको सेरोफेरोमा उनले आधा दर्जनभन्दा बढी पुस्तकहरु लेखेका छन् [...]
  • दर्नाल अवार्ड रक्षाराम चमारलाई: कान्त... श्रावण ३१, २०७३- सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्‍याएबापत सामाजिक अभियन्ता रक्षाराम चमार ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बाट सम्मानित भएका छन् । दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति लडेका सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । दर्नालको मृत्यु पाँच वर्षअघि अमेरिकामा सडक दुर्घटनामा परी भएको थियो । [...]
  • A consummate democracy activist: OPED... Aug 16, 2016- The sudden death of Suvash Darnal, at the age of 31 in 2011 produced an outpouring of shock and sorrow among the international democracy advocates he had befriended—unusual for someone who died so young and whose work had been confined to the relatively small and remote country of Nepal. While Suvash had [...]

No Comments Yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Upcoming Events

There are no upcoming events at this time.

Darnal Award Nominators (2016)

Learn more about the many individuals involved in selecting the Darnal Award for Social Justice final awardee.

हाम्रा कथाहरु : पिपुल्स आर्काइभ प्रोजेक्ट.
थप अध्ययनका लागि

Inspiring stories from and about people.
Click to learn more...

सामाजिक न्याय.
थप अध्ययनका लागि
Learn more about social justice.
Click here...

Darnal Award for Social Justice - DASJले Dalit Human Rights Portalको किन लेख्ने दलित युवाले ? साझा गर्नुभयो। ... See MoreSee Less

"तपाइँले चिया खाएको गिलास माझ्नु पर्ने ठाउँमा गिलास फोड्नुहुन्छ भने त्यो पनि दलित आन्दोलन हो । तपाइले गरेका विद्रोहहरु पनि लेखिनु पर्छ । हाम्रो इतिहास हामीले नै लेख्नुपर्छ ।" किन लेख्ने दलित युवाले ? #Padamsundas

View on Facebook

Darnal Award Mailing List

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Archives

Skip to toolbar