Honoring Social Justice Leaders Worldwide

सामाजिक न्यायका लागि दर्नाल अवार्ड

सामाजिक न्यायका एक अभियन्ताको नाम हो सुभाष दर्नाल । छोटो आयु बाँचेका दर्नालका सपना र काम अविस्मरणीय छन् । तिनै सपनाको सम्मान र कामको सम्झनामा ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ स्थापना गरिएको हो । सरिता परियारले सञ्चार क्षेत्रमा दलित मुद्दाका लागि क्रियाशील अग्रणी संस्थाः जागरण मिडिया सेन्टर (जेएमसी) सँगको साझेदारीमा आफ्नो ट्रस्ट फन्डमार्फत यो पुरस्कार स्थापना गर्नुभएको हो ।
यो अन्तर्राष्ट्रिय पुरस्कार सामाजिक न्याय र दलित सशक्तीकरणका लागि सङ्घर्षरत व्यक्ति, संस्था वा आन्दोलनलाई हरेक दुई वर्षमा प्रदान गरिन्छ । नेपालका सीमान्तकृत समुदायहरू, तिनमा पनि विशेषतः दलित समुदायको सामाजिक न्याय, सम्मानित जीवन र उज्ज्वल भविष्यका लागि दिइएको योगदानबापत यो पुरस्कार वितरण गरिन्छ । यो पुरस्कारको राशि पाँच लाख रुपियाँको हुने छ ।
सुभाष दर्नाल न्याय र स्वतन्त्रताको पक्षमा सङ्घर्षरत मानिसहरूको प्रशंसा र सम्मान गर्नुहुन्थ्यो । उहाँको नाममा स्थापित यो पुरस्कार पनि आम उत्पीडितहरूले देखाएका विशिष्ट क्षमता र शक्तिको सम्मान नै हो । विशेषतः नेपाल र नेपालबाहिरका सीमान्तकृत र उपेक्षित समुदायलाई समतामूलक समाज बनाउन उत्प्रेरित गर्नु यस पुरस्कारको मुख्य लक्ष्य हो । त्यसैले आशा छ, यो पुरस्कारले पुरस्कार विजेताहरूका कामलाई थप प्रवर्धन गर्ने छ । र, सामाजिक न्यायका लागि नयाँ प्रेरणादायी काम गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यको पुल पनि बनाउने छ ।
नेपालजस्तो अति नै श्रेणीबद्ध समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो बाटोमा ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण कार्य हो । त्यसैले सुभाष दर्नाल पुरस्कार वेबसाइट पनि नेपालभित्र र बाहिर बस्ने मानिसहरूका लागि त्यस्तो ज्ञानको चौतारी हुने छ, जहाँ बसेर सामाजिक न्यायसम्बन्धी विचार–विमर्श गरिने छ ।

“दर्नाल अवार्ड दलितका लागि सामाजिक न्यायको अभियानलाई अझ फराकिलो पार्ने सुन्दर तरिका हो । किनभने दलितका लागि सामाजिक न्याय नै सुभाषको जीवनलाई डो¥याउने मुख्य उद्देश्य थियो । छोटो आयु मात्रै बाँचेका सुभाषले अहिंसात्मक रूपमा क्रियाशील हुन युवाहरूलाई उत्प्रेरित गर्नुभएको थियो । यस्तै उत्प्रेरणा र क्रियाशीलताकै परिणामस्वरूप दलित अधिकारको अभियानमा सुसूचित र प्रभावशाली जनवकालतको अभ्यास भएको देखिन्छ । यस्तै अभियानको क्रममा न्यायप्रति प्रतिबद्ध उहाँको विशिष्ट व्यक्तित्व निर्माण भएको हो, जुन नयाँ पुस्ताका दलित कार्यकर्ताहरूका लागि रोल मोडलको रूपमा विकसित भएको पाइन्छ । हुन त सुभाष हामीबीच हुनुहुन्न, तर यो पुरस्कारले उहाँको सम्झनालाई जीवित राख्ने छ, उहाँको स्वतन्त्र संसारको सपनालाई पनि साँची राख्ने छ । मार्टिन लुथर किङले एक पटक भन्नुभएको थियो, त्यस्तो संसारमा भगवान्का सबै बच्चाहरू अन्ततः स्वतन्त्र हुने छन् नै ।” –कार्ल गेर्सम्यान, सभापति, नेसनल इण्डोमेन्ट फर डेमोक्रेसी

दर्नाल अवार्ड छनौट प्रक्रिया
दर्नाल अवार्ड प्रक्रिया कडा प्रतिस्पर्धात्मक हुने छ । यसको पहिलो चरणमा आमन्त्रित प्रस्तावकहरूको समूहले सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची बनाउने छ । दोस्रो चरणमा यो पुरस्कार परिचालन समितिले सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूचीमाथि होशियारीपूर्वक समीक्षा गर्ने छ र उम्मेदवारहरूबाट पाँच वा सात जना मुख्य प्रतिस्पर्धीको सङ्क्षिप्त सूची बनाउने छ । तेस्रो चरणमा निर्णायक समितिले सङ्क्षिप्त सूचीमा समावेश गरिएका उम्मेदवारलाई आमन्त्रण गर्ने छ अनि उनीहरूसँगको भेटघाटका आधारमा पुरस्कृत व्यक्ति छनौट गर्ने छ ।
प्रत्येक प्रस्तावकबाट दुई जना उम्मेदवार प्रतावित गरिने यो प्रक्रियामा नेपाललगायत विभिन्न देशका विविध पृष्ठभूमि भएका लगभग ५० जना प्राज्ञ, बुद्धिजीवी, नेता र कार्यकर्ता सहभागी हुनु हुने छ । यसरी उम्मेदवार पहिचान गर्ने काममा सघाउने प्रस्तावकका रूपमा उहाँहरूको कार्यकाल पाँच वर्षको हुने छ । तर, उहाँहरूलाई चार वर्षका लागि मात्रै मनोनयन प्रक्रियामा सघाउन अनुरोध गरिने छ । यसबाट उम्मेदवारहरूको सूचीलाई व्यापक बनाउन मद्दत पुग्ने छ भने मनोनयन प्रक्रियामा उच्च स्तरको पेसागत दक्षता कायम गर्न सघाउने छ ।
दर्नाल अवार्ड लागि आवश्यक निर्देशिका बनाउने र प्रस्तावकहरूलाई आमन्त्रण गर्ने काम पुरस्कार परिचालन समितिले गर्ने छ । सुभाष दर्नाल पुरस्कार समितिलाई उम्मेदवारहरूको प्रथम सूची प्राप्त भएको दुई हप्तापछि प्रस्तावकहरूको नाम पनि सार्वजनिक गरिने छ । आफूले आफैलाई प्रस्ताव गर्ने प्रक्रियालाई भने स्वीकार्य हुने छैन ।
मनोनयनमा पर्न सक्ने व्यक्ति, संस्था वा आन्दोलनहरूः
  • व्यक्तिः कार्यकर्ता, प्राज्ञ-अनुसन्धाता, प्रध्यापक, स्वास्थ्यकर्मी, लेखक, साहित्यकार, मिडियाकर्मी, कलाकार, गायक-सङ्गीतकार, नीति–निर्माता, उध्योगी, राजनीतिक नेता र सामुदायिक अगुवाहरू ।
  • संस्थाः सरकारी तथा गैर–सरकारी संस्थाहरू वा समुदायमा आधारित सङ्गठनहरू ।
  • सामाजिक न्यायका आन्दोलनः विशेषतः ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका लागि लोकतन्त्र र नागरिक अधिकारलाई सुदृढ गर्ने ध्येयप्रति प्रतिबद्ध आन्दोलनहरू ।
  • सामान्यतः दर्नाल अवार्ड कुनै पनि विशेष जात, जाति, समुदाय, वर्ग, धर्म, उमेर, लिङ्ग, लैङ्गिक रुझान तथा राष्ट्रियतामा मात्रै सीमित हुने छैन । माथि जे भनिए पनि पुरस्कार स्थापनाको शुरुका केही वर्षसम्म नेपालको दलित समुदायका ४० वर्षभन्दा मुनिका महिला र युवाहरूलाई प्राथमिकता दिइने छ ।
पुरस्कृत व्यक्तित्वको घोषणापछि सम्पूर्ण प्रस्तावकहरू, मनोनीत व्यक्तिहरू र दर्नाल अवार्ड समितिका सदस्यहरूको नामसँगै मनोनयन प्रक्रिया पनि प्रकाशित गरिने छ । दर्नाल अवार्ड परिचालन समितिका सदस्यहरू यस प्रकार हुनुहुन्छः
  • सरिता परियार, सरिता परियार ट्रस्ट फन्ड (एसपीटीएफ) की ट्रस्टी, समता फाउण्डेशनकी बोर्ड सदस्य एवं सुभाष दर्नालकी श्रीमती
  • रेमबहादुर बिके टमटा, जागरण मिडिया सेन्टरका अध्यक्ष
  • पदम सुन्दास, समता फाउण्डेशनका अध्यक्ष
  • विनोद पहाडी, जागरण मिडिया सेन्टरका सल्लाहकार एवं संविधानसभाका पूर्वसभासद्
  • कृष्णबहादुर भट्टचन (पीएचडी), त्रिभुवन विश्वविद्यालय
  • सुमित्रा मानन्धर गुरुङ (पीएचडी), समता फाउण्डेशनकी बोर्ड सदस्य तथा महिला सहकारी लिमिटेडकी अध्यक्ष
  • अशोक कु. गुरुङ, इण्डिया चाइना इन्स्टिच्युटका सिनियर डाइरेक्टर, न्यु स्कुलका प्रोफेसर एवं एसपीटीएफका ट्रस्टी ।
१) मनोनीतहरूको बृहत् सूचीः प्र्रत्येक आमन्त्रित प्रस्तावक÷मनोनयनकर्ताबाट दुई जनाको नाम प्रस्तावित गरिने छ ।
२) मनोनीतहरूको सङ्क्षिप्त सूचीः दर्नाल अवार्ड परिचालन समितिले उम्मेदवारहरूको सङ्क्षिप्त सूची बनाउने छ ।
३) पुरस्कृत व्यक्तिको छनौटः निर्णायक समितिले पुरस्कृत व्यक्ति छनौट गर्ने छ ।
आयोजक
अमेरिकाको न्युयोर्कमा रहेको निजी ट्रस्टः सरिता परियार ट्रस्ट फण्ड (एसपीटीएफ) ले सन् २०१३ मा ‘सामाजिक न्यायका लागि सुभाष दर्नाल पुरस्कार’ स्थापना गरेको हो । एसपीटीएफले जागरण मिडिया सेन्टर (जेएमसी) सँगको साझेदारीमा पुरस्कारको व्यवस्थापन गर्ने क्रममा पुरस्कार रकम उपलब्ध गराउँछ भने जेएमसीले अन्य व्यवस्थापन गर्दछ । जेएमसी सुभाष दर्नाल र रेमबहादुर बिके टमटाको नेतृत्वमा युवा र सक्रियतावादीहरूद्वारा सन् २००० मा स्थापित गैरनाफामुखी र गैरसरकारी संस्था हो । यसले दलित मुद्दालाई नेपालको राष्ट्रिय एजेण्डाको अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । जेएमसी सुभाष दर्नालले स्थापना गरेका संस्थामध्ये पहिलो भएकाले यसमा उहाँका सपना, कर्म र जोश गाँसिएका छन्, नङ र मासुजस्तै । यसले स्थापना गरेको ‘सुभाष दर्नाल जागरण राष्ट्रिय पुरस्कार’ पनि सामाजिक न्यायलाई प्रवर्धनका लागि, जातपातमा आधारित विभेद र छुवाछूत अन्त्यका लागि क्रियाशील रहेका अग्रणी पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।
साझेदारहरू
अन्य सङ्घसंस्थाले पनि ‘सामाजिक न्यायका लागि सुभाष दर्नाल पुरस्कार’को स्थापना र व्यवस्थापनमा सहयोग पु¥याएका छन् ।
समता फाउण्डेशन नेपालका दलितका हक–अधिकारबारे अनुसन्धान र जनवकालत गर्दछ । दलित मुद्दामा ज्ञान उत्पादन गर्ने, सचेत र आलोचनात्मक नागरिकका रूपमा सहभागिताका लागि उत्प्रेरित गर्ने तथा दलित युवाहरूलाई भावी अगुवाका रूपमा निर्माण गर्ने काममा यो संस्था क्रियाशील छ ।
सुभाष दर्नाल मेमोरियल ट्रस्ट । सुभाष दर्नालको दुःखद् र असामयिक अवशानपछि उहाँका साथीसँगीहरूद्वारा सन् २०११ मा स्थापित यो संस्थाको स्थापना गरियको हो । २०१२ मा सीमान्तकृत दलित समुदायका बादी महिलाका हक–अधिकारका लागि भएको आन्दोलनको नेतृत्व गरेकी उमादेवी बादीलाई र त्यस्तै, नेपालको सुदूर पश्चिममा दलित आन्दोलन र हलिया मुक्ति आन्दोलनको अगुवाइ गरेका गणेश बिके ‘देउल्याल’लाई संयुक्त रुपमा पुरस्कृत गरिएको थियो । त्यस्तै २०१३ मा दलित आन्दोलनमा अनवरत योगदान पुर्याउने पुर्व सांसद मन वहादुर विश्वकर्मालाई मरणोपरान्त प्रदान गरिएको थियो ।
शान्तिका लागि साझा अभियान (कोक्याप) । यसले शान्ति,मानवअधिकार र लोकतन्त्र स्थापनाका लागि चौतारीको रुपमा भुमिका खेल्दै आएको छ । यस संस्थाका एक संस्थापक सदस्य सुभाष दर्नालले सन् २००६ देखि सन् २००८ सम्म यसको अध्यक्षता गर्नुभएको थियो । नेपालका २९ वटा जिल्लाका ४३ वटा गैरसरकारी संस्थाको सञ्जाल हो ।
दलित एनजीओ फेडरेशन (डीएनएफ) नेपालका दलित गैरसरकारी संस्थाहरूको छाता सङ्गठन हो । यसले नेपालमा व्याप्त जातपातमा आधारित विभेद र छुवाछूत अन्त्यका लागि दलित संस्थाहरूलाई एक ठाउँमा ल्याउने र साझा अभियान सञ्चालन गर्ने काम गर्दै आएको छ ।
समाजशास्त्र-मानवशास्त्र, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय सन् १९८१ मा स्थापना गरिएको सबैभन्दा ठूलो विभाग हो । यो विभागले सीमान्तकृत समुदायबारे विषयगत शिक्षणसँगै अध्ययन–अनुसन्धानलाई पनि गहन एवं विकसित गर्दै आएको छ ।
नेपाल पत्रकार महासङ्घ देशभित्र र बाहिरका सबैजसो मिडियामा काम गर्ने आठ हजारभन्दा बेसी नेपाली पत्रकारहरुको छाता सङ्गठन हो ।
इण्डियन इन्स्टिच्युट अफ दलित स्टडिज (आईआईडीएस) भारतको त्यस्तो पहिलो अनुसन्धान संस्था हो, जसले सामाजिक रूपमा बहिष्कृत र सीमान्तकृत समुदायको विकासका सरोकारबारे अध्ययन–अनुसन्धानलाई केन्द्रित गर्दै आएको छ । आईआईडीएस र यसका पूर्वनिर्देशक प्रो. सुखदेव थोराटले सुभाष दर्नालका कामकारबाहीलाई निरन्तर सघाउँदै आउनु भएको छ ।
इन्टरनेशनल दलित सोलिड्यारिटी नेटवर्क (आईडीएसएन) युरोपेली देशहरूमा क्रियाशील रहेका विभिन्न मानवअधिकारवादी समूहदेखि राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालहरूसम्मको अन्तर्राष्ट्रिय सञ्जाल हो । नेपाललगायत अन्य देशमा जारी रहेको जातपातमा आधारित विभेदको अन्त्यका लागि दशकौंदेखि विश्वव्यापी रूपमा सक्रिय रहेको यस नेटवर्कले समता फाउण्डेशनसँग पनि सहकार्य गरिरहेको छ ।
नेसनल इण्डोमेन्ट फर डेमोक्रेसी (एनईडी) विश्वमा लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने काममा क्रियाशील रहेको गैरनाफामूलक संस्था हो । सुभाष दर्नालले सन् २००८ देखि २००९ सम्म यसको रिगन–फासेल डेमोक्रेसी फेलो हुनुहुन्थ्यो ।
ओपन सोसाइटी फाउण्डेशन सबै जनताको सहभागितालाई स्वागत गर्ने र उनीहरुप्रति जवाफदेही हुने सरकार भएका देशमा स्पन्दन र सहिष्णुता भएको समाज निर्माणका लागि क्रियाशील रहेको छ । यसले समता फाउण्डेशन र जागरण मिडिया सेन्टरलाई संस्थागत सहयोग उपलब्ध गराउँदै आएको छ ।
संयुक्त राज्य अमेरिकाको वेस्टर्न मिचिगन युनिभर्सिटीको राजनीतिशास्त्र विभाग नेपालमा अध्ययन–अनुसन्धानमा सहयोग गर्दै आएको छ । यस युनिभर्सिटीका प्रोफेसर डा. महेन्द्र लावतीले नेपालका सामाजिक आन्दोलन, जनजातीय राजनीति, सीमान्तीकृत समुदाय र लोकतन्त्रीकरणका मुद्दा उठाउँदै आउनुभएको छ ।
अमेरिकाको न्युयोर्कस्थित द न्यु स्कुलमा रहेको इण्डिया चाइना इन्स्टिच्युटले नेपालमा समावेशी लोकतन्त्र, सामाजिक न्याय र दलित अधिकार सुनिश्चित गर्न सुभाष दर्नालले गरेका सत्प्रयासलाई सहयोग गर्दै आएको छ ।
आउँदा दिनहरूमा नेपाली भाषामा उपलब्ध भएका प्रासंगिक विषयवस्तुलाई वेबसाईटमा समावेश गर्ने सक्दो प्रयास गर्नेछौं। नेपाली भाषामा अन्तरक्रियात्मक सामग्री पनि छिटै नै उपलब्ध गराउँनेछौं।
तस्बिर :  दलित महिला आन्दोलन , कंचनपुर , २०१२

Darnal Nepali



पदम सुन्दास
अध्यक्ष, समता फाउण्डेशन


"भौतिक रुपमा नासवान हुने मान्छेको संघर्षमय जीवन र सद्विचार मृत्यु पर्यन्त बॉची रहन्छ । असमान–विभेदयुक्त नेपाली समाजमा जन्मेर आजिवन समानता र न्यायका पक्षमा लागि परेका सुभाष दर्नालको संघर्षगाथा र योग्दानको स्मृती स्वरुप अन्तर्राष्ट्रिय स्तरमा स्थापित “दर्नाल पुरस्कार” ले सामाजिक न्यायका पक्षमा समर्पित संसारभरीका व्यक्ति व्यक्तित्वलाई सच्चा प्रेरणा मिल्ने कुरामा म विस्वस्त छु ।" साउन २८, २०७१




श्याम श्रेष्ठ
नागरिक समाजका अगुवा


सुभाष दर्नालको मृत्यु नेपालको दलित तथा उत्पीडितहरूको आन्दोलनका लागि त अपूरणीय क्षति हो नै, नेपालको समग्र अग्रगामी सामाजिक आन्दोलन र प्रगतिशील रूपान्तरणको आन्दोलनका लागि पनि यो ठूलो क्षति हो । आफू प्रस्ट रूपमा वैज्ञानिक समाजवादी विचारधाराको मानिस हुँदाहुँदै पनि धेरैलाई र फरक विचारका मानिसलाई समेत सँगै लिएर अग्रगामी दिशामा अघि बढ्ने जुन खुबी सुभाषले सानो उमेरमै देखाएका थिए, त्यो समकालीन सबै बुढा तथा युवा अगुवाका लागि अनुकरणीय छ । किनभने, सानो हृदय अर्थात संकीर्णता र आग्रह-पूर्वाग्रह नेपाली राजनीतिको दीर्घरोगजस्तै भएको छ । पूरा पढ्नुहोस

Upcoming Events

There are no upcoming events at this time.

Darnal Award Nominators (2016)

Learn more about the many individuals involved in selecting the Darnal Award for Social Justice final awardee.

हाम्रा कथाहरु : पिपुल्स आर्काइभ प्रोजेक्ट.
थप अध्ययनका लागि

Inspiring stories from and about people.
Click to learn more...

सामाजिक न्याय.
थप अध्ययनका लागि
Learn more about social justice.
Click here...

Darnal Award for Social Justice - DASJले Dalit Human Rights Portalको किन लेख्ने दलित युवाले ? साझा गर्नुभयो। ... See MoreSee Less

"तपाइँले चिया खाएको गिलास माझ्नु पर्ने ठाउँमा गिलास फोड्नुहुन्छ भने त्यो पनि दलित आन्दोलन हो । तपाइले गरेका विद्रोहहरु पनि लेखिनु पर्छ । हाम्रो इतिहास हामीले नै लेख्नुपर्छ ।" किन लेख्ने दलित युवाले ? #Padamsundas

View on Facebook

Darnal Award Mailing List

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Archives

Skip to toolbar